ब्राजिल अन्तिम आठमा, सेमिफाइनल पुग्न क्रोएसियासँग भिड्ने

Bhugolpark

२७ बैशाख, २०८२,05:47

पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो। 

सहज जित हात पारेको ब्रालिलले पहिलो हाफमै चार गोल गरेको थियो। ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमै गोल गर्न सफल भएका थिए। 

१३ औं मिनेटमा ब्रालिलले अग्रता दोब्बर पार्‍यो। अघिल्ला खेल चोटका कारण गुमाएपछि मैदान फर्किएका नेइमारले पेनाल्टीमार्फत ब्राजिलका लागि दोस्रो गोल गरेका थिए। 

रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गर्न सफल भए। उनले २९ मिनेटमा ब्राजिलका लागि तेस्रो गोल गर्दा एसियन टिम कोरिया पहिलो आधा घन्टा बित्न नपाउँदै ३-० गोलले पछि पारेको थियो। 

३६ मिनेटमा लुकास पाक्युटाले अर्को गोल गरेपछि ब्राजिल पहिलो हाफमा ४-० गोलले अघि रहेको थियो। 

पहिलो हाफमै चार गोल खाएपछि कोरियाले दोस्रो हाफमा खेलमा सुधार ल्यायो। ७६ मिनेटमा पार्क सेन्होले गोल गर्दा कोरियाका लागि सान्त्वना मिलेको थियो। 

जित निकालेसँगै अब अन्तिम आठमा ब्राजिल र क्रोएसियाबीच खेल हुने भएको छ।

क्रोएसियाले आजै भएको खेलमा जापानलाई हराएर अन्तिम आठमा स्थान बनायो। निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो।



19 Views

Comments