नेपालको राजनीतिमा विकृति, दलले छानेका अधिकांश समानुपातिक सांसदहरू गैरराजनीतिक नेताका आफन्त एवम् पत्नी

Bhugolpark

२५ बैशाख, २०८२,06:21

काठमाडौँ

भूगोल पार्कको धारणा हरेक दलका प्रभावशाली नेताका परिवार वा आफन्तहरू समानुपातिक सांसदहरू बन्दा कुनै आपत्ती होइन् खाली जुन प्रयोजनको लागि समानुपातिक निर्वाचन प्रणालिको व्यवस्था गरिएको हो सोही प्रयोजनको लागि हुनुपर्छ भन्ने मात्र हो। समानुपातिकमा सांसद छनोटको मूलध्येय राजनीतिको मूल धारमा आउन नसकेका तर समाज वा राष्ट्रलाई महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई ल्याउने ठाउँ हो।

मुलुकको शासन व्यवस्थालाई समावेशी बनाउन लागू गरिएको समानुपातिक निर्वाचन प्रणालीमा नेता र तिनका नातागोता र स्वार्थ समूहलाई सांसद बनाइएको छ । दलले छानेका अधिकांश समानुपातिक सांसदहरू गैरराजनीतिक तथा नेताका आफन्त देखिएका छन् ।

नेकपा एमाले महासचिव शंकर पोखरेलकी बहिनी

नेकपा एमालेबाट प्रतिनिधिसभा महिलातर्फ १ नम्बरमा मेनका पोखरेल छानिएकी छन् । दाङकी मेनका नेकपा एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् । खासै राजनीतिक भूमिका नभएकी प्राध्यापक पेशा छाडेकी मेनकाको नाम शंकर पोखरेलको जोडबलमा समानुपातिकको पहिलो नम्बरमा राखिएको थियो । यसअघि शंकर पोखरेल लुम्बिनी प्रदेशसभा सांसद हुँदै मुख्यमन्त्री र श्रीमती सुजिता श्रेष्ठ समानुपातिक सांसद थिइन् ।

दाङका एक एमाले नेताले भने, ‘बहिनी मेनकालाई समानुपातिकको १ नम्बर राख्दा शंकर पोखरेल चुनाव हारे । उनी साघुरो घेराभित्र रमाउन चाहन्छन्, जसले आफैंलाई क्षति भयो ।’यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मेनकाका पति शिवकुमार आचार्यलाई शंकर पोखरेलकै आग्रहमा भूमि आयोग दाङको अध्यक्ष बनाएको थियो ।

कांग्रेस प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी

कांग्रेस प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँण पनि समानुपातिक सांसद बनेकी छन् । आफू रुपन्देही–३ बाट राप्रपा नेता दीपक बोहोरासँग पराजित भए पनि खाँणले पत्नी मञ्जुलाई खसआर्य तर्फबाट माथिल्लो नम्बरमा राखेर सांसद बनाइछाडे । मञ्जु यसअघि २०७४ सालमा पनि सांसदको सूचीमा थिइन् । खाँणकी पत्नीलाई समानुपातिकबाट सांसद बनाएपछि चौतर्फी आलोचना भएको छ ।

गृहमन्त्री खाँणले आफ्ना भाइ रामकृष्ण खाँणलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयर बनाएका छन् । परिवारवादमा केन्द्रित हुँदा गृहमन्त्री खाँणको राजनीतिमा संकट थपिँदो छ ।

निवर्तमान प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेकी पत्नी

लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट जानकी न्यौपाने छानिएकी छन् । खसआर्यबाट छानिएकी जानकी निवर्तमान प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेकी पत्नी हुन् । अनेमसंघकी नेत्री जानकीलाई समानुपातिकमा राखेर कृष्ण फेरि पनि प्रत्यक्ष निर्वाचन लड्न चाहन्थे । रूपन्देही–१ बाट निर्वाचन जितेका कृष्णले अहिले राप्रपासँग चुनावी तालमेल गर्दा टिकट पाउन सकेनन् । श्रीमतीलाई प्रदेश सांसद बनाए ।

रूपन्देहीबाट प्रदेश सांसदमा छनोट भएकी भगवतीकुमारी थरुनी ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवटकी पत्नी हुन् । भगवती केवटकी कान्छी पत्नी हुन् । जेठी पत्नी निर्मलाकुमारी निसाद गाउँपालिका उपाध्यक्षमा उम्मेदवार रहेकी एमाले देवदहका अजय रौनियारले जानकारी दिए । गत वर्ष माओवादी छाडेर एमाले प्रवेश गरेका केवटले पत्नीलाई समानुपातिकबाट सांसद बनाउनुपर्ने शर्त राखेका थिए । अन्तत थरुनी थारू कोटाबाट सांसद भइन् ।

रौनियारले पार्टीमा चरम बेथिति भएकाले आफूलाई राजनीतिप्रति वितृष्णा लागेको बताए । एमालेबाटै समानुपातिक सांसद बनेकी बसन्ती न्यौपाने भूमिश्वर ढकालकी सम्धिनी (छोरीकी सासु) हुन् । एमाले केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ५(१) बाट निर्वाचित ढकालले सम्धिनीका लागि लबिङ गरेका थिए । ढकाललाई बुटवलबाट राजधानी दाङ सार्न भूमिका खेलेको आरोप छ ।

नेताहरूले आफन्तलाई समानुपातिक सांसद बनाएपछि दलहरूभित्र असन्तुष्टिका स्वरहरू तीव्र भएका छन् । समानुपातिक तर्फबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचित गर्दा बन्दसूचीको माथिल्लो क्रममा रहेका उम्मेदवारलाई पहिलो प्राथमिकता दिनुपर्ने कानूनी व्यवस्था छ ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नेताहरू आफैंले आफन्तलाई समानुपातिकबाट सांसद बनाएर जग हसाएको बताउँछन् । ‘प्रतिनिधि सभामा भाग नपुगे समानुपातिकमा, समानुपातिकमा पनि भाग नपुगे राष्ट्रिय सभामा लैजाने परम्परा र संस्कृति राजनीतिक दलहरूले देखाएका छन्,’ केसीले भने, ‘आफ्नो मान्छे र धन भएको मान्छेलाई मात्र ल्याउने परम्परा र संस्कृतिको विकास भयो । यसले समानुपातिक प्रणालीप्रति उल्लंघन र ठुलो दुरुपयोग भएको छ । यो कुरा जनताले ठाउँमा हिसाबकिताब गर्नेछन् ।’

एमालेको समानुपातिक सांसदमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल

एमाले नेता तथा सांसद विष्णु पन्थीले समानुपातिकमा व्यापक विकृति देखिएको बताउँदै यसलाई धेरै सुधार गर्नु आवश्यक भएको सञ्चारकर्मीलाई बताए । ‘एमालेको समानुपातिक सांसदमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल सांसद हुन्छन् । यो जस्तो विकृति के होला ? मलाई बोल्न डर छैन । म त पटक–पटक कारवाही भोगेको मान्छे हुँ । समानुपातिकमा व्यापक विकृति देखियो,’ पन्थीले भने ।



39 Views

Comments